Saturday

गगन थापाहरुलाई अन्तिम मौका - दिनकर नेपाल


लगभग दस वर्षअघि खुल्ला मन्चमा 'गगन थापा' गर्जेको सुनेपछि मेरा एक जना काकाले भनेका थिए- "यसलाई प्रधानमन्त्री बनाउन पाउने भने देशमा केही हुन्थ्यो कि?"
र, म ट्वाल्ल परेर निकै बेर उनको त्यो किङमेकरजस्तो कुरामा घोरिएको थिएँ।
दसवर्षे अन्तरालको अनुभवपछि अहिले फर्केर हेर्दा, त्यो घटना र काकाको भनाइबाट केही कुरा खेल्न आउँछन्। देश द्वन्द्वले ग्रसित भएको बेला थियो, राजाको निरंकुशता चरममा रहेको बेला थियो। काँग्रेसको संस्थापन पक्ष कानिएर बसेको बेलामा पनि गणतन्त्रको कुरा उठाएर विद्यार्थी नेता गगन थापाले अदम्य साहसको परिचय दिएका थिए। विलक्षण वक्तृतवले गगन थापाले धेरैलाई प्रभावित पारे।
अर्को महत्वपूर्ण कुरा हो- मेरा काकाको किङ मेकरजस्तो आँट। मेरा काका देशका एकजना सामान्य नागरिक हुन्। राजनीतिमा एक भोट, प्रचारप्रसारमा अलि चर्को स्वर र चिया गफमा सक्रिय सहभागिताभन्दा बढी उनको कुनै राजनीतिक योगदान छैन। उनी आफ्नै व्यवसायमा व्यस्त, 'गरी खाने' वातावरण होस् भन्ने चाहना राख्ने एक आम नेपाली हुन्। तर पनि, किङमेकरजस्तो उनको घोषणाले त्यस्तो बेलामा पनि सर्व-साधारण नेपालीको गहिरो विश्वास लोकतन्त्रमा नै रहेको र आफ्ना नेता आफैँ चुन्ने आशा नमरेको व्याख्या आजभोलि मैले गर्ने गरेको छु।
वास्तवमा परिवर्तन त्यही आशाले गर्दा नै आउन सम्भव छ। भारतको दिल्लीमा भर्खरै सम्पन्न भएको बिधान-सभा चुनावमा त्यही विश्वासको शक्तिले मूर्तरुप पाएको छ। भ्रष्टाचार र सुशासनको लागि आन्दोलन चलाइरहेका केही नागरिकलाई दुई वर्षअघि सत्तारुढ काङ्ग्रेसका केन्द्रीय मन्त्रीले 'हिम्मत भए चुनाव लडेर देखाउन' चुनौती दिएका थिए। वास्तवमै त्यसको एक वर्षपछि 'आम आदमी पार्टी' गठन भयो र त्यसैको एक वर्षपछि दिल्लीमा १५ वर्षदेखि सत्तामा रहेको काङ्ग्रेसको अहममा 'झाडू' लागेर पत्ता साफ भएको छ।
तर नेपालमा भने समसामयिक परिस्थिति झनै निराशाजनक भएको छ।
गगन थापा खुल्ला मन्चमा गर्जेर चर्चामा आएपछिको एक दशकमा मुलुकको राजनीतिमा नाटकीय परिवर्तन भयो। राजतन्त्र फालियो र गणतन्त्र स्थापित भयो। त्यतिबेला गगन थापालाई कारबाही गर्न उत्सुक काङ्ग्रेसको संस्थापन पक्ष अहिले गणतन्त्र स्थापनाको क्रेडिट लिन खोज्ने अवस्था सम्म पुग्यो। तर बाह्र बर्षपछि पनि सिधा नहुने कुरो सिधा भएन।
अहिलेको चुनावमा दलहरु एक बर्षभित्र नै संविधान बनाएर देशलाई स्थायित्व दिने बाचा गर्दै भोट माग्न घरदैलो चहारेका हुन्, तर चुनाव लगत्तै सबै प्रतिबद्धता खरानी भै सकेका छन्। अहिलेको भाग-बन्डाको राजनीति, पैसा र बाहुबलको प्रभावले एउटा कुरा त प्रस्ट पारेको छ-  जबसम्म 'नेता'हरुको नियत ठीक हुँदैन, जस्तोसुकै राम्रो सिद्धान्त र व्यवस्थाको पनि दुरुपयोग हुन्छ। राजनीतिले काँचुली फेर्न अहिले स्थापित अनुहारहरुबाट सम्भव छैन भन्ने धेरैपल्ट सिद्ध भइसकेको छ। भारतको दिल्लीमा भएको परिवर्तन हेर्दा थुक निलेर हामी सोच्न बाध्य छौं- के वास्तवमै हामी यस्तै फोहोरी राजनीतिको लायक छौं त?
नायकको खाँचो
मिडिया स्वत: कम्युनिस्टहरुसँग तर्सिने गर्छ। त्यसैले तीव्र ध्रुवीकरणको माहोलमा उदारवादी खेमापट्टि नै उसको झुकाव देखियो। तर, लोकतान्त्रिक र उदारवादी खेमामा राष्ट्रिय नेताका रुपमा सर्वमान्य व्यक्तित्व कोही पनि देखिएन। त्यसै कारण विगत एक दशकमा लिडरशिप वेक्युमको प्रचुर फाइदा गगन थापालाई भयो र उनी मिडियाका 'डार्लिङ' बन्न पुगे।
उदारवादी धारमा विश्वास राख्नेहरुका एक्ला आशाका किरण बन्न पुगेका गगन थापालाई यो कुरा भने बुझ्न आवश्यक छ कि उनकै दल कांग्रेस बुढ्यौली पारा, परिवर्तन नरुचाउने ढाँचा, पारम्परिक मनोदृष्टि र आन्तरिक अलोकतान्त्रिक चरित्र उनकै लागि सबैभन्दा ठूलो बाधक बन्दै छ। देशमा स्वच्छ राजनीतिक संस्कार र दिगो सम्रृद्धिका अवरोध पनि यिनै कुरा हुन्।
 महान् र अद्भुत नेता भनिएका कमरेडहरुको विलासितापूर्ण जीवनशैली, सत्तालोलुपता र अन्तरकलहले पतन गराइसकेको छ। सर्वहाराका नेताहरुको घमन्ड हेर्दा राजालाई नै मात दिने खालको देखिन्छ। यस्तो अवस्थामा अहिले उदारवादी खेमाको बिँडो थाम्नसक्ने एउटा राष्ट्रिय नेता चाहिएको छ। अतिवादीको कट्टरपनाले दिनसक्ने स्थिरता प्रतिको मोह भन्दा बढी आकर्षित गर्नसक्ने महान् व्यक्तित्व चाहिएको छ। वाकपटु र चतुर राजनीतिज्ञ हैन, आँट, जाँगर र उत्साहलाई देशसेवामा समर्पित गर्न सक्ने नायक चाहिएको छ।
विरासतमा कमजोरी  
संस्थापन पक्षको 'कम्फर्ट जोन'मा बसेर, देशकै सबैभन्दा लामो समय सम्म शासन गरेको दलको आधारमा टेकेर र पारिवारिक सम्बन्धलाई राजनीतिक रुप दिएर एक अर्थमा गगन थापाले पनि 'विरासत'कै राजनीति गर्न खोजेका हुन्। काङ्ग्रेस फेरिनेवाला छैन भन्ने राम्रैसँग बुझेका उनले त्यही बुढो बाघ मरेपछि खाल ओढेर बाघ बनेको अभिनय गर्ने धोको पालेको हुनाले नै अहिले उनको चर्को आवाज मत्थर हुँदै गएको देखिन्छ। लोकप्रियताको चस्कोले उनको महत्वाकाँक्षा बढाएको र महात्वाकाँक्षाले आँट कुज्याएजस्तो देखिन थालेको छ।
तर, त्यो विरासत बोक्न चाहनेले यो पनि बुझ्न पर्छ कि बुढो बाघको खाल सँगै त्यसका दुर्गन्धहरु पनि आऊँछन्। लामो समय देशको सत्ता हातमा भएर पनि आन्तरिक गुट्बन्दी, सामन्तिपना, भ्रष्टाचार र अलोकतान्त्रिक चरित्रका कारण नै कांग्रेसमा नेता छानिन पाएनन्। देशको एउटा ठूलो उदारवादी लोकतान्त्रिक शक्ति कमजोर हुँदै गयो।
पहिलो संविधानसभाको चुनावमा काँग्रेसको 'अपमानजनक' हारपछि देशव्यापी रुपमा संगठन बलियो बनाउन भनेर गगन थापाले जति दौड कसैले लगाएको छैन। युवाहरुले राष्ट्रिय स्तरमा जिम्मेवारी पाउनु पर्छ भनेर भाषण र अन्तर्वार्ता पनि उनले जति कसैले गरेको छैन। तर, अहिलेको उम्मेदवारी र बागीपनाको लहर, चुनावपछि समानुपातिक तर्फको होड र नेतृत्ववर्गको सामन्ती कार्यशैली हेर्दा काँग्रेस आफ्नो भुलबाट सिक्ने पार्टी होइन रहेछ भन्ने प्रष्ट हुन्छ। अरु दलहरुको हालत पनि उस्तै छ।
युवाहरुको चुनौती
घोषणापत्रमा जे लेखिए पनि काँग्रेसका नेताहरुको व्यवहार, चुनाव प्रचार शैली र चुनाव पछि संविधान सभामा समानुपातिक तर्फको प्रतिनिधित्व र भाग-बन्डाको राजनीति हेर्दा नेपाली जनताले दोस्रो पटक ठुलो आशाका साथ आफुलाई दिएको जिम्मेदारीलाई दलहरुले गम्भीरताका साथ नलिएको प्रष्ट हुन्छ। घोषणापत्रमा मात्र सिद्धान्तका मीठा कुरा र खरर भाषण गरेर त्यसमा विश्वास जनतालाई हुने छैन। 'अमेरिकन ड्रिम' जस्तै सपना देखाएर, फुकुयामा र हन्टिङ्टनका कथन भट्याएर 'उदार लोकतन्त्र' व्यवहारमा लागु हुने हैन। एकातिर हजारौं जनताको ज्यान गुमाएपछि आफैले स्वीकारेको आवेगको गलती नमान्ने ‘सर्वहारा देशभक्त’ नेता छन् भने अर्कोतिर मृत्‍यु शैया सम्म सत्ताको आश राख्ने यथास्थितीवादीहरुको बोलबाला छ। तीनैका बीचको सत्ताको खेलमा लाखौं नेपाली युवाहरुको भविष्य धरापमा परेको छ। गगन थापाहरुले आँट नपुर्याउनाले नै यो सम्भव भएको हो।
अहिलेका बुढ्यौलीले कुँजिएका नेताहरु झैँ आफ्नो सहजता अनुसार 'युवा'को परिभाषामा म्याद थप्दै जाने हो भने त छुट्टै कुरा, नत्र भने अहिलेका सबै युवा नेताहरुले यति कुरा बुझ्न आवश्यक छ -  तपाईंहरुले दावी गर्ने गरेको 'युवा वर्ग र नयाँ पुस्ता' को प्रतिनिधित्व पनि छिट्टै तपाईंकै लागि अवैध हुनेछ। समय र अवसरले कुनै एक व्यक्तिलाई पर्खेर बसेको ईतिहास छैन, 'इन्डीस्पेन्सब्ल' त कोही पनि हुँदैन।
नेताहरुले थोरै गरेर ईतिहासमा धेरै क्रेडिट लिन सकिने बेला हो यो। स्थिरता भयो भने त बिकास जनताले आँफै गर्ने हुन्। चीनमा बिकास कुनै वादले भएको होइन, राज्यले गरेको होइन। त्यहाँका जनताले नै गरेका हुन्। जुराइ दिनेलाई ईतिहासले आँफै नायक बनाउछ। 'हिरो' हामीलाई नभई हुँदैन, त्यसकारण नेपाली जनता पनि 'बेनेफिट अफ डाउट' जो कसैलाई दिन तयार हुनेछन्। तर, अहिलेका स्थापित खेलाडीहरुलाई यो भने अन्तिम मौका हुने पक्का हो। समस्या लम्बिई रह्यो भने समाधानको लागि विकल्प त पक्कै उम्रिन्छ र त्यसले समाधान दिन नसक्नेहरुलाई 'झाडू' लगाएर पाखा पनि तर्काइदिन्छ।
Courtesy:SetoPati.com

0 comments:

Post a Comment

Powered by Blogger.

© Gagan Thapa, Youth Leader of Nepali Congress, AllRightsReserved.

Designed by ScreenWritersArena